के भएको थियो नेपालगन्ज विमानस्थलमा, किन भयो मन्त्रीको अपमान ?

काठमाडौं, २९ भदौ । विमान कुराएको भन्दै यात्रुहरुले संस्कृति, पर्यटन तथा नागरिक मन्त्री योगेश भट्टराईको अपमान गरेका छन् ।

शनिबार राती नेपालगन्ज विमानस्थलबाट काठमाडौं उड्ने क्रममा रहेको विमान मन्त्री भट्टराईलाई कुर्दा १ घण्टा ढिला भएको भन्दै मन्त्रीविरुद्ध गालिगलौज गर्दै भिडियो बनाएर सामाजिक संजालमार्फत सार्वजनिक पनि गरेका छन् ।

उनीहरुले मन्त्रीलाई असभ्य भन्दै अपमानित समेत गरेका छन् । उक्त भिडियोमा मौन देखिएका मन्त्री भट्टराईले काठमाडौं पुगेर फेसबुकमार्फत घटनाको स्पष्टिकरण दिएका छन् ।

उनका अनुसार विमानस्थलमा आउन १५ मिनेट ढिला भएकै हो । डल्फिन महोत्सव सकेर आउँदा केही ढिला भएको र आइतबार संसदमा जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं फर्कनै पर्ने अवस्था थियो । तर, १५ मिनेट भित्रै मन्त्रिको टोली विमानस्थलमा आइपुगेको थियो ।

यात्रुले भने १ घण्टा कुराएको भन्दै हंगामा गरे । मन्त्री भटटराईका अनुसार केही यात्रुले पारस शाहका विरुद्ध ७ लाख हस्ताक्षर बुझाउने यही हो भन्दै अपमानित गरेका कारण घटना नियोजित रहेको उल्लेख गरेका छन् ।

उनीहरुको नियत बुझेपछि आफू मौन बसेको उनको भनाई छ । यद्दपी १५ मिनेट यात्रुलाई कुराएको प्रति भने उनले माफी मागेका छन् । नेपालगन्जमा वास्तवमै के भएको थियो, त्यसको यथार्थ जिम्मेवार नेपालगन्ज विमानस्थल र बुद्ध एयर पनि हुन् ।

यी दुई निकायले अझै केही सार्वजनिक गरेका छैनन् । मन्त्रीलाई थर्काउने व्यक्ति भने यूट्यूवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाही हुन् ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ : ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’

उनको स्टाटसपछि मन्त्री भट्टराईले लेखेको स्टाटस यस्तो छ :
आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो ।

तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो ।

भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३र४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो ।

एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् रु त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।

त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here