नेपाली पासपोर्ट सुडान, कंगो र हाइटीको भन्दा कमजोर, फ्रान्सको विश्वकै शक्तिशाली

काठमाडौं । सन् २०२४ का लागि विश्वभरका मुलुकहरूको पासपोर्टको वरियता सार्वजनिक भएको छ । हेनली पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि पासपोर्टको वरियता सार्वजनिक गरेको हो ।

सार्वजनिक वरियता अनुसार फ्रान्सको पासपोर्ट विश्वकै शक्तिशाली अर्थात् पहिलो नम्बरमा रहेको छ । फ्रान्सका नागरिकले भिसा बिनै विश्वका १९४ मुलुकमा आवतजावत गर्न सक्छन् ।

यस्तै, जर्मनी, इटली, जापान, सिङ्गापुर र स्पेन पनि वरियताको शीर्ष स्थानमा रहेका छन् । यी देशका नागरिक पनि विश्वका १९४ मुलुकमा जान भिसा लगाइ रहनु पर्दैन ।

त्यस्तै, फिनल्याण्ड, नेदरल्याण्ड, दक्षिण कोरिया र स्वीडेन दोस्रो नम्बरमा परेका छन् । यी देशका नागरिकले विश्वका १९३ देशमा जान भिसा लगाउनु पर्दैन ।

यस्तै, अमेरिका छैटौं, ब्राजिल १८ औं, चीन ६४ औं, भारत ८५ औं स्थानमा रहेका छन् ।

नेपाल रहेको १०३औं वरियतामा लिबिया र प्यालेस्टाइनका पासपोर्ट पनि परेका छन् । तर, सुडान, साउथ सुडान, इथियोपिया, कंगो, हाइटी र भुटानजस्ता देशका पासपोर्ट नेपालको भन्दा माथिल्लो वरियतामा छन् ।

नेपाली भिसा बिनै विश्वका ४० देशमा आवत जावत गर्न सक्नेछन् । विश्वमा सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ अफगानिस्तान वरियाताको पुछार अर्थात् १०९ औं स्थानमा रहेको छ । यहाँका नागरिक भिसा बिना २८ वटा देशमा मात्रै आउजाउ गर्न सक्छन् ।

दक्षिण एशियाली मुलुकहरू क्रमशः श्रीलंका १०१ औं, बंगलादेश १०२ औं, पाकिस्तान १०६ औं, भुटान ९२ औं र माल्दिभ्स ५८ औं स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here