उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना हुने, मेलमिलाप परिषदसँग सम्झौता

काठमाडौं, ३० भदौ । नेपाल उद्योग वाणिज्य महासंघमा मेलमिलाप केन्द्रको स्थापना हुने भएको छ । महासंघले नेपाल मेलमिलाप परिषदसँगको सहकार्यमा सो केन्द्रको स्थापना र सञ्चालन गर्ने भएको हो ।
त्यसका लागि महासंघ र परिषदबीच मेलमिलाप केन्द्रको स्थापना र सञ्चालन गर्न पूर्व–तयारी गर्ने सम्बन्धी एक सहमतीपत्रमा हस्ताक्षर भएको छ ।

उद्योग, व्यापार, वाणिज्य तथा बैकिंङ क्षेत्रसंग सम्बन्धित मेलमिलाप प्रक्रियाबाट समाधान हुन सक्ने किसिमका विवादहरूको समाधान मेलमिलाप मार्फत गराउन आवश्यकता महशुस गर्दै सो सहमती भएको महासंघले बताएको छ ।

सहमतीपत्रमा महासंघका उपाध्यक्ष्ँ किशोर कुमार प्रधान र नेपाल मेलमिलाप परिषदको तर्फबाट सदस्य सचिव नारायण प्रसाद पन्थीले हस्ताक्षर गरेका छन् ।

मेलमिलाप केन्द्र स्थापना प्रक्रिया, कार्य विधि, संस्थाको स्वरूप, कानूनी प्रक्रिया समग्र विषयमा अधिमुखीकरण गर्ने उद्देश्यले पूर्व न्यायाधीस र वरिष्ठ अधिवक्ताहरूको कार्यपत्र सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । सो कार्यक्रमले दिएको सुझावलाई आधार मानि केन्द्र स्थापना कार्य अगाडी बढाउने विषय सहमतिपत्रमा उल्लेख छ ।

हस्ताक्षर कार्यक्रमलाई संबोधन गर्दै महासंघका उपाध्यक्ष प्रधानले परिषदसंगको सहमतीले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्न निकै सहज हुने बताए । यो सहकार्य व्यवसायिक समस्या समाधानमा कोशेढुंगा सावित हुने समेत विश्वास उनले व्यक्त गरेका थिए ।

परिषदको तर्फबाट मेलमिलाप परिषदका सदस्य सचिव पन्थीले महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्दै सहमती पश्चात आयोजना हुने कार्यक्रमबाट निजी क्षेत्रका विभिन्न क्षेत्र लाभान्वित हुने विश्वास दिलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here