इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने

फाइलफोटो

काठमाडौं । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको रिक्त पदमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०८१ वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको हो ।

हाल प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नं. २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ मा सांसद पद रिक्त छ । आयोगले सो दुवै क्षेत्रमा एकैदिन चुनाव गर्न लागेको हो ।

इलाम क्षेत्र नं. २ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।

त्यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो ।

नेपालको संविधानको धारा ८४ (७) तथा धारा २७६ (८) बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको हो, सोही प्रक्रियाद्वारा उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here