माननीयको सिंहदरबार मोह, ८ अर्ब खर्चेर चौघेरा भित्रै संसद भवन

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओली करीव १ महिनापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सरिक हुँदैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार ११ बजे उनी संघीय संसद भवनको शिलान्यासका सिलसिलामा पुतली बगैचा सिंहदरबार पुग्न लागेका हुन् ।

सरकारले संघीय संसदको भवन सिंहदरबार भित्रै बनाउने निर्णय गरी प्रक्रिया पुरा गरेको छ । अब शिलान्यास पछि धमाधम काम शुरु हुने भएको छ ।

शहरी विकास मन्त्रालयका अनुसार करीव ३ वर्षमा सम्पन्न हुने यो भवनको कूल लागत झण्डै ८ अर्ब रुपैयाँ हो ।

विश्वका धेरै देशमा सामान्यतया कार्यकालिका, व्यवस्थापिका र न्यायपालिकाका निकायहरु छुट्टाछुट्टै स्थानमा हुन्छन् ।

सबै निकायले स्वतन्त्र रुपमा काम गरिरहेका हुन्छन् । नेपालमा भने सबै निकायलाई एउटै चौघेरा भित्र राखेर थुपार्ने प्रवृत्ति संघीयतामा पनि अझै उस्तै देखिएको छ ।

नयाँ संसद भवन सिंहदरबारबाट केही पर बन्छ, मूख्य शहरभन्दा टाढा बन्छ र कानून निर्माणमा केन्द्रित हुन्छ भन्ने धेरैको अपेक्षा विपरित सरकारले सिंहदरबारकै पर्खाल भित्र यो विशाल संसद भवन निर्माण गर्न लागेको छ ।

संसदको आफ्नो भवन नहुँदा अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरको हल भाडामा लिएर संघीय संसद चलिरहेको छ । उक्त भवनका लागि मात्र सरकारले वार्षिक १५ करोड रुपैयाँ भाडा तिर्दै आएको छ ।

नयाँ भवनमा जमिनमुनि दुई तल्ला र माथि एक तल्ला पार्किङ हुने भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सचिवालय, पदाधिकारीको कार्यकक्ष र हल समेत यस भवनमा रहने छ । यस भवनमा मात्र कम्तिमा ५ सय गाडी पार्क गर्न सकिने व्यवस्था सहित भवनको डिजाइन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here