श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, छोरा भागेर बाँचे

काठमाडौं । मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडाटोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् ।

प्रहरीका अनुसार धारिलो घरेलु हतियार प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यलय बेलबारीदेखि घटनास्थल करिब एक किलोमिटर दूरीमा रहेको छ ।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उनको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । गीताको शव बिहान ९ बजे पोष्टमार्टमको लागि विराटनगर लगिएको छ भने श्रीमानको शव कोशी अस्पतालमा रहेको छ ।

बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरुका ८ वर्षीय छोराले भने भागेर ज्यान बचाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here