शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, २१ वर्षमा जोडे ३ करोड २१ लाख ‘अवैध सम्पत्ति’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्कीले २१ वर्षको अवधिमा तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

कार्की काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्धमा कार्यरत छन् ।

साथै गैरकानूनी रूपमा आर्जन गरेको पैसाबाट छोरी र श्रीमतीको नाममा जग्गा र सम्पत्ति खरिद गरेको पाइएको छ ।

अतिरिक्त जिम्मेवारीको रुपमा उनले कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना माकलवारीमा खटिई काम गर्दै आएका छन् ।

कार्की सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५८ साउन १६ देखि ०७९ चैत ३० गतेसम्मको अवधिलाई अख्तियारले जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो ।

उक्त अवधिमा उनको आयव्ययको विश्लेषण गर्दा तीन करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ ६० पैसा वैध आय देखिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवधिमा उनले ६ करोड ९८ लाख ४६ हजार ६०३ रुपैयाँ ३५ पैसा खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here