काठमाडौं । होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ जारी छ । काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको चलिरहेको हो ।
आइतबार अपराह्न ४ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ६६४ सवारी चालकलाई कारबाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जसमा मोटरसाइकल ६४९ वटा छन् । चार पांङ्गे सवारी १५ वटा कारबाहीमा परेका छन् ।
अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिएको छ ।
उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।
यसै गरी विभिन्न ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको छ । होली पर्वलाई दुर्घटनारहित,सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पाेइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।