तराई-मधेसमा होली, किन मनाइन्छ पूर्णिमाको भोलिपल्ट ?

काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ ।

पहाडी जिल्लामा पूर्णिमामा मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने भोलिपल्ट होली मनाउन लागिएको हो । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

हिमाल, पहाडमा पूर्णिमाकै दिन मनाइने होली तराई-मधेसमा किन भोलिपल्ट ?

फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट(प्रतिपदाको दिन) होली मनाउने चलन छ ।

पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।

पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ।

उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन।

होलिका आगोमा जलिसकेको देखेर हिमाल, पहाड तिर मान्छेहरु होलिकाको मृत्युको खुशीमा होली खेल्न थालिसकेका थिए । ‘

होलिका वध होस् वा कामदेव भष्म भएको प्रसंग, नकारात्मक पक्षको अन्त्य भएको खुशीयालीमा होली मनाइएको हो।

मध्यरातमा होलिकाको प्रतीक जलाई त्यसबाट निस्केको खरानीको टीका लगाएपछि होली सुरु भएको मानिन्छ। मध्यरातमा होलिकाको प्रतीक जलाएको हुनाले तराईमा भने भोलिपल्टमा होली मनाउने प्रचलन आएको दाबी छ ।

एक क्षेत्रका मानिसले पूर्णिमाको राति होलिका दहन गरेपछि होली समापन भएको मान्छन् भने अर्को क्षेत्रका मानिसले ‘होलिका दहन’ भएपछि होली मनाउन सुरु गर्छन्। एउटै देश, एउटै पर्व, एउटै संस्कृति तर काठमाडौं उपत्यकामा एक दिन, तराई–मधेसमा अर्को दिन मनाउने चलन छ ।

कुन देशमा कसरी मनाइन्छ होली

फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ।

चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ। यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ।

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ।

श्रीलङ्का र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ।

फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ। सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ। नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here