काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा नेपालको व्यापार घाटा करिब १२ खर्ब रुपैयाँ नजिक पुगेको छ ।
गएको साउनदेखि वैशाखसम्म देशमा १३ खर्ब तीन अर्ब ३५ करोड रुपैयाँको सामान आयात गरिएको छ । यो अवधिमा निर्यात भने एक खर्ब २६ अर्ब १७ करोड रुपैयाँको गरिएको छ । यसरी देशलाई ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ व्यापार घाटा भएको हो ।
वैशाखसम्म नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख ८७ हजार रुपैयाँको भएको छ। सोही अवधिमा अघिल्लो वर्ष १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख ९९ हजार रुपैयाँको व्यापार भएको थियो।
उक्त व्यापारमा नेपालले सो अवधिमा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँ व्यापारघाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख २५ हजार रुपैयाँ थियो। तुलनात्मक रुपमा सो अवधिमा व्यापारघाटा २७ अर्ब २३ करोड ८९ लाख ३४ हजार रुपैयाँले घटेको हो।
भन्सार विभागका अनुसार नेपालको आयात र निर्यात क्रमशः २.३९ प्रतिशत र ३.६१ प्रतिशतले घटेको छ। उक्त अवधिमा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको आयात गर्दा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँको मात्र निर्यात गरेको छ।
अघिल्लो आवको १० महिनामा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख ६२ हजारको आयात र १ खर्ब ३० अर्ब ९० करोड ३७ हजार रुपैयाँको निर्यात गरेको थियो।
विभागका अनुसार आयात निर्यात अनुपात १०.३३ (१.२६ प्रतिशत) हुँदा कुल व्यापारमा निर्यातको हिस्सा ८.८३ प्रतिशत र आयातको हिस्सा ९१.१७ प्रतिशत छ।