सिरोहिया पक्राउप्रति निजी क्षेत्रले भन्यो-‘उजुरी परेकै आधारमा पक्राउ गर्नु राम्रो होइन’

काठमाडौं । संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रले गम्भीर आपत्ति जनाएका छन् ।

बिहीबार निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका हुन् ।

‘कानुन विपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने तर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

निजी क्षेत्रले विगत देखि व्यवसायीलाई पक्राउन गर्नु अगावै सुनुवाईको मौका दिनुपर्नेमा आवाज उठाउँदै आएको छ । थुन्नुभन्दा पहिले उनीहरूको कुरा सुन्नु पर्ने उनीहरूको भनाइ छ ।

‘थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

व्यवसायीको मान मर्दन गरेर तथा उनीहरूलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न नसक्ने उनीहरूको धारणा छ । ‘अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ । देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ हामी सबैको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here