वर्षाले सडक भासिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।

गए राति २ बजेतिर गैँडाकोट-९ थुम्सीको जङ्गलमा सडक भासिएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारण सडक भासिएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको बताए। अवरुद्ध सडकमा ट्रक फसेको छ।

यसैबीच भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा दुर्घटना भएको छ। त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here