नेपालतर्फबाट चोयुको पहिलोपटक सफल आरोहण

काठमाडौं । आरोहणका हिसाबले निकै कठिन मानिएको चोयु हिमाल (८,१८८ मिटर)मा नेपालतर्फबाट पहिलोपटक सफल आरोहण गरिएको छ ।

पर्यटन विभागका अनुसार, नेपालतर्फबाट ६ शेर्पासहित एक विदेशी नागरिकले हालै उक्त हिमालको पहिलोपटक सफल आरोहण गरेका छन् । त्योसँगै नेपालबाट चोयु आरोहणको ढोका खुलेको छ । गएको शुक्रबार ६ शेर्पा र फ्रान्सका एक नागरिकले चोयुको सफल आरोहण गरेका हुन् ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यू राइड, एसएसटी नेपाल रुट) हुँदै चोयुको पहिलोपटक सफल आरोहण गरिएको छ । नेपालतर्फबाट यसअघि चोयु आरोहणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

उक्त हिमाल आरोहणका निम्ति निकै कठिन मानिन्छ । चोयु आरोहणले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । चोयु हिमालको यसअघि चीनतर्फबाट मात्र आरोहण गरिँदै आएको थियो ।

विभागको पर्वतारोहण शाखाका अनुसार, उक्त आरोहण टोलीमा फ्रान्सका अलास्डिर म्याकान्जि र नेपालका गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्बा शेर्पा, लाक्पा तेन्जी शेर्पा र निग्मा ओङदा शेर्पा थिए ।

चोयु हिमाल आरोहण गरी सोमबार (हिजो) काठमाडौं आइपुगेको टोलीलाई विमानस्थल र पर्यटन बोर्डमा आयोजित कार्यक्रममा भव्य सम्मान गरियो । बोर्ड, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले संयुक्त रूपमा आरोही टोलीलाई सम्मान गरिएको हो ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले नेपाली टोलीले लामो समयको प्रयासपछि कठिन, साहसिक र जोखिमपूर्ण मानिएको चोयु आरोहण गरेर नेपालको पर्वतारोहणलाई विश्वभर नयाँ सन्देश दिन सफल भएको बताए ।

बोर्डका उपध्यक्ष रामप्रसाद सापकोटाले अहिलेको सफलताले अब नेपालबाटै आरोहीले चोयु आरोहण गर्न पाउने भन्दै खुसी व्यक्त गरे ।

नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पनि चोयु आरोहणको सफलताले पुनः विश्वभर नेपालको पर्यटन क्षेत्रको प्रचार हुने विश्वास व्यक्त गरे । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here