एसईईको नतिजा असार दोस्रो साताभित्र

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए ।

उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अरू कार्य तीव्र गतिमा भइरहेको बताए । “हामीले उत्तरपुस्तिका परीक्षण र अंक अभिलेखको काम सकेका छौँ ।

प्राविधिक त्रुटि नदेखिए केही दिनअगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ,” उनले भने ।

उनले ५२ परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारी समेत दिए ।

गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरिएको थियो । बोर्डले यो वर्ष त्योभन्दा १४ दिनअगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको उनले बताए । उनले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नजिता सार्वजनिक गरिने जानकारी दिए ।

यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनैपर्ने अन्यथा ‘फेल’ भएसरह मानिने उनले बताए ।

गत चैत १५ गतेदेखि सुरु भएको यो वर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here