जेनेभा उडे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभातर्फ उडेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न जेनेभाका लागि प्रस्थान गरेका हुन् ।

पौडेललाई बिदाइ गर्न उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँगै उच्चपदस्थ सरकारी अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलमा राष्ट्रपति पौडेललाई सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । पौडेलले ३० जेठमा स्विट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेनेभाबाट राष्ट्रपति पौडेल १ असारमा बर्लिन जानेछन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणमा बर्लिन जाने पौडेलले ३ असारमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here