आँप किन्दा के कुरामा ध्यान दिने, कसरी चिन्ने स्वादिष्ट र विषादीयुक्त ?

काठमाडौं ।गर्मी महिनालाई आँपको मौसमको रुपमा पनि चिनिन्छ । स्वादिलो र रसीलो हुने भएकाले आँप प्राय सबै उमेरका मानिसहरुलाई मन पर्छ ।

फलफूलहरु मध्ये आँपलाई राजा फलका रुपमा लिइन्छ । यो बेला बजारमा पाइने फलफूलमध्येमा आँप धेरैको रोजाईमा गरेको छ । आँपको सेवन हाम्रो स्वास्थ्यको लागि पनि फाइदाकारी हुन्छ ।

यसमा हाम्रो शरीरलाई फाइदा गर्ने विभिन्न प्रकारका पौष्टिक तत्वहरु हुन्छन् । यस फलमा विशेषगरी प्रोटिन, भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ ।

तर, आँप खाँदा पनि हामीले ध्यान दिनुपर्छ । मिठो भयो भन्दैमा एकैपटक धेरै आँप खानुहुँदैन । सामान्यतया धेरै आँपको आकर्षक रङ हेरेर त्यसको आधारमा आँप किन्ने गर्छन् । तर रङकै आधारमा त्यसमा रसायन प्रयोग भएको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ ।

आँप प्राकृतिक रूपमा पाकेको छ भने यसको रङ हल्का पहेंलो र हरियो हुन्छ । रसायनले पकाएको आँप भने धेरै गाढा पहेंलो रङको हुन्छ । अन्य आँपको तुलनामा बजारमा अहिले मालदह, दशहरी, बम्बई र कृष्णभोग आँपको धेरै बिक्री भइरहेको फलफूल विक्रेताहरु बताँउछन् ।

काठमाडौंमा खासगरी मालदह, कलकत्ते, दसरी, बम्बई, मल्लिका, आम्रपाली तथा कृष्ण भोग खजरीलगायत प्रजातिका आँप पनि बजारमा छन् ।

आँप किन्दा के-के कुरामा ध्यान दिने ?

बजारमा आँप किन्दा सकेसम्म खुला ठाउँमा राखिएको आँप किन्नु उपयुक्त हुन्छ । कार्टुनमा राखेको आँपमा यदि इथिलिङको मात्रा बढी छ भने त्यसले असर गर्न सक्छ ।

तर खुला ठाउँमा रहेको आँप किन्दा त्यसले समस्या सिर्जना गर्दैन । आँप किन्दा सकेसम्म काँचो किन्नुहोस्, ताकि घरमा लगेर आफैँले पकाउन सकियोस् ।

उपभोक्ताले बढी पाकेको आँप खोज्छन् । त्यसले गर्दा पनि व्यवसायीहरुले त्यस्ता रसायनको प्रयोग गर्ने गर्छन् । तर आँप खाने बेलामा उपभोक्ताले केही धैर्य अपनाउने हो भने गुणस्तरीय हिसाबले आफ्नै घरमा आँप पकाएर खान सकिन्छ ।

जस्तो एकै ठाउँमा आँप राख्ने कन्जस्टेड गरेर राख्नु हुन्न । यस्तो गर्न सकियो भने बजारमा रहेका आँपलाई हामी सुरक्षित ढंगले खान सक्छौं ।

आँप कसरी छान्ने ?

अहिले बजारमा पाइने आँपमध्ये कुन विषादीयुक्त छ र स्वाभाविक तरीकाले पाकेको हो भनेर जान्न निकै आवश्यक छ ।

कालो-कालो दाग लागेको आँप नकिनेको खण्डमा मात्र पनि विषादीयुक्त आँपबाट बच्न सकिन्छ । विज्ञको अनुसार प्राकृतिक रुपमै पाकेको आँप सबैतिर एकनासको हुन्छ ।

रसायनरहित आँप भेट्नोबाट पाक्दै अर्थात् पहेलो हुँदै जान्छ । यस्ता आप थिच्नासाथ लचिलो हुन्छ र एकनासले दबिन्छ ।

जबकी रसायन तथा विषाक्तयुक्त आँपमा जताततै कालो-कालो थोप्ला देखिन्छ । यस्ता आँप कतै पुरै पाकेको तथा कतै काँचै रहन्छ ।

हरियो भए पनि सबैतिर हरियो रहँदैन । पहेँलो भएको ठाउँ थिच्नासाथ पिचिक्कै जान्छ । कुनै-कुनै आँप त एकातिर हरियो हुन्छ भने अर्को छेउ कुहिनै लागिसकेको हुन्छ ।

काठमाडौंमा जेठको सुरुबाटै बम्बई, जर्दा र कलकत्ते जातको आँप आउँछ। त्यस्तै जेठको मध्यबाट असारको अन्तिमसम्म मालदहको सिजन हो।

दशहरी

बजारमा आउने आँप मध्ये एक प्रख्यात आँपको जात हो । यो आँपको रुख मध्यम आकारको हुन्छ । यो आँप सिधा, फल मध्यम, फलमा नाक नभएको लाम्चो, गुदी पहेंलो, रेशाविहीन ठोस गुदी, स्वाद अति मीठो, चिल्लो बोक्रा भएको सुगन्धयुक्त हुन्छ । भण्डार क्षमता राम्रो भएको मध्यको मौसमी जातको आँप हो ।

माल्दह

रुख मध्यम, फल मध्यम, बोक्रा पातलो र नरम, गुदी पहेंलो, सुगन्धित रसिलो र मिठो स्वाद हुन्छ । यो भण्डार क्षमता कम हुने मध्य मौसमी जातको आँप हो। अर्थात यो आँपलाई धेरै दिनसम्म भण्डारण गर्न सकिँदैन।

कृष्णभोग

यो आँपको फल गोलाकार हुन्छ। अन्य जातकोभन्दा यसको बोक्रा बाक्लो हुन्छ। साथै गुदी हल्का पहेँलो, रेसादारयुक्त हन्छ। यो भण्डार क्षमता उच्चतम भएको आँप हो। सिजन सकिँदा पनि यो आँप बजारमा पाइन्छ।

बम्वई ग्रिन

यो मध्यम अण्डा आकारको फल हो। फल पाकिसक्दा पनि बोक्रा हरियो नै देखिन्छ। गुदी सुन्तला रङको र कम रेसादारयुक्त हुन्छ।

चौसा

यो आँपको रुख अग्लो र हाँगा फिजिएको हुन्छ । यसको फल केही ठूलो लगभग ३ सय ५० ग्राम, करिब करिब लाम्चो आकारको, गुलियो, फल रसदार, कम रेसा भएको, पहेँलो रङ गाढा हुन्छ । यो साउन महिनाा तिर पाक्ने पछौटे जातको र भण्डार क्षमता राम्रो भएको आँपका रुपमा चिनिन्छ ।

तोतापरी

यो आँप सुख्खा क्षेत्रको लागि सुहाउँदो र पुड्को मध्यम खालको आँप हो । यो आँप सिधा, फल मध्यमदेखि ठूलो आकारको, बाङ्गोटिङ्गो आकारको सतह नरम, बोक्रा मध्यम बाक्लो, गुदी सुनौलो पहेँलो र रसदार मिठो स्वाद, रेशा नभएको बढी फल्ने आँप हो । कम भण्डार क्षमताको भएको पछौटे जात आँप हो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here