एशियाली मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा ज्ञवालीको जोड

काठमाडौं, ११ असोज । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले एशिया क्षेत्रका मुलुकहरुमा देखिएको आर्थिक वृद्धि र विकासलाई ध्यानमा राखेर यहाँका मुलुकहरुले वृहत सहकार्य गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।

संयुक्त राष्ट्र संघको ७४ औं महासभाको साइडलाइनमा आयोजित एशिया कोअपरिेशन डायलग (एसीडी)को मन्त्रीस्तरीय अनौपचारिक बैठकलाई सम्बोधन गर्दै उनले वृहत् क्षेत्रीय एकतामा जोड दिएका हुन् ।

एशियाली क्षेत्रमा बढ्दो आर्थिक वृद्धिदर, पूर्वाधार तथा प्रविधिको विकास, उपलब्ध प्राकृतिक तथा मानवीय स्रोत, उन्नत सभ्यता र सांस्कृतिक सम्पन्नताले एशियालाई विशेष बनाएको र ती क्षेत्रमा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

बलियो मित्रता, साझदारी र सहकार्यले समग्र क्षेत्रको विकासको गतिलाई उच्च बनाउन सकिने मन्त्री ज्ञवालीले बताए ।
तर, यस्तो सहकार्य र एकताले ठोस नतिजा ल्याउनु पर्ने उनको धारणा थियो ।

उनले जलवायु परिवर्तनले गरीब मुलुक बढी प्रभावित भएको पनि बताए । जलवायु परिवर्तनमा खासै योगदान नभएका साना र गरीब मुलुकहरुले त्यसको चर्को असर खेप्नु परेको बताउँदै उनले त्यसका लागि संयुक्त पहल आवश्यक रहेको बताए ।

जलवायु परिवर्तनको मुद्दालाई अझ जोडतोडका साथ उठाउन नेपालले सगरमाथा संवादको आयोजना गर्न लागेको पनि उनले जानकारी दिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले ओमन, भुटान र मोजाम्बिकका आफ्ना समकक्षी क्रमशः युसुफ बिन आलावि बिन अब्दुल्ला, टाण्डी दोर्जी, जोसे पाचेकोसँग अलगअलग भेट गरी नेपालसँगको द्विपक्षीय सम्बन्ध तथा बहुपक्षीय मुद्दाहरुमा सहकार्य गर्नेबारे छलफल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here