५७ नयाँ हिमालमा आरोहण अनुमति दिने तयारी

काठमाडौं । सरकारले ५७ नयाँ हिमालमा आरोहण अनुमति दिने तयारी गरेको छ । पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गर्न लागेको हो । मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने छ ।

त्यहाँबाट स्वीकृत भएपछि हिमालहरू आरोहणका लागि खुला हुनेछ । पर्यटन विभागले पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो आरोहणका लागि खुला गर्न लागिएको जनाएको छ ।

आरोहणयोग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ । बजेटको बुँदा नम्बर ७० मा यो नीति समेटिएको छ । सरकारले आरोहणलाई सगरमाथामा मात्र प्राथमिकता दिने गरेको र अन्य हिमाल प्रवद्र्धनमा ध्यान दिन नसकेको गुनासोबीच थप ५७ हिमाल आरोहण खुला गर्न लागिएको हो ।

पर्यटन विभागले नेपाल पर्वतारोहण संघसँगको सहकार्यमा थप हिमाल खुला गर्ने गरी सूची छनोट गरिएको जनाएको छ । विभागले यी हिमाल आरोहणका लागि खुला गर्न लागिएको भन्दै धार्मिक, सांस्कृतिक र भौगोलिक प्रतिकूलताका कारण खुला गर्ने वा नगर्ने सम्बन्धमा कुनै दाबी विरोध भए उपलब्ध गराउन सरोकारवालासँग आह्वान गरेको छ ।

विभागले आफ्नो ईमेलमा एक साताभित्र आएका दाबी विरोधको सुनुवाइ गरिने र त्यस अवधिभित्र दाबी विरोध नआए कुनै कारबाही नहुने समेत बताएको छ । सरकारले अहिलेसम्म ४ सय १९ हिमाल चुचुरो आरोहणका लागि खुला गरेको छ । जसमा सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटर उचाइका सबै हिमाल पर्छन् ।

सरकारले ४ सय १९ हिमाल आरोहणमा खुला गरे पनि आरोहण भने केही सीमित हिमालमा मात्र केन्द्रित छ । पर्यटन विभागका अनुसार अहिले पनि आरोहण खुला भएका ६८ हिमाल चुचुरोमा मानव पाइला पुगेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here