नौविसे-नागढुंगा सडकमा प्रहरीले खटायो ‘हाइवे अपरेशन टोली’

काठमाडौं, १३ असोज । अधिक सवारी जामका कारण सरकार र प्रहरीको आलोचना भएपछि प्रहरीले जाम हटाउन विशेष प्रहरी टोली नै खटाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म राजमार्गमा कुनै पनि घटना हुन नदिन र जाम भए त्यसलाई खुलाउन विशेष प्रहरी टोली खटाएको जानकारी दिएको छ ।

अहिले क्रमशः यस सडक खण्डमा हावागमन सहज भएको र ट्राफिक जाम समेत नरहेको प्रहरीले उल्लेख गरेको छ ।

यात्राका क्रममा कुनै जाम भए या समस्या आइपरे यात्रुले प्रहरीलाई तुरुन्तै खबर गर्न वा गुनासो टिपाउन सक्ने समेत धादिङ प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अब हरेक दुई दुई घण्टामा यस सडक खण्डको सवारी चापको अवस्थाबारे पनि अपडेट सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सवारी चापको अवस्था हेरेर धेरै जाम हुने अवस्थामा यात्रुले वैकल्पिक राजमार्ग वा बाटो समेत प्रयोग गर्न सक्नेछन् ।

धादिङ प्रहरीका अनुसार करीव १ दर्जनको हाराहारीमा खटिने हाइवे अपरेशन टोलीले आवागमन सहज बनाउन भूमिका खेल्ने भएका छन् ।

दुई दिन अगाडी यस सडक खण्डमा सवारी साधन करीव १२ घण्टासम्म जाममा फसिनु परेको थियो । जामकै कारण एक यात्रुको मृत्यु समेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here