उपत्यकाका नदी किनार जलमग्न

काठमाडौं । रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीमा बाढी पसेको छ ।

बाग्मती नदी किनारका शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ । बल्खु तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्‍याएको छ । ललितपुरको च्यासलमा रहेको एन्फाको फुटबल मैदानमा र नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

यस्तै बल्खुदेखि शङ्खमुलसम्मको बाग्मती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेको छ । इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।

भक्तपुरमा हनुमन्ते नदीमा बढेको पानीको बहावका कारण धेरै तटीय बस्ती डुबानमा परेका छन् । भक्तपुरको हनुमानघाट, जगाती, च्यामासिंह र सूर्यविनायकको राममन्दिर र बाराहीस्थान र सल्लाघारी आसपासका बस्तीमा बाढी पसेको छ ।

यसैगरी मध्यपुर थिमीको राधेराधे, चारदोबाटो सागबारी, गठ्ठाघरको तल्लो बेल्ट,बालकोट लगायतका ठाउँमा समेत बस्ती डुबानमा परेका छन् । यसअघि डुबानमा नपरेका बस्तीमा समेत ढलबाट खोलाको पानी पस्दा डुबानको समस्या देखिएको छ । सिद्धिस्मृति अस्पतालमा पानी पसेपछि सेवा नै ठप्प भएको छ । भक्तपुरको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here