प्रदेश र स्थानीय सडक निर्माण गर्न विश्व बैंकले नेपाललाई दिने भयो ११ अर्ब

काठमाडौं । नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैंक र सरकारबीच १ सय मिलियन अमेरिकी डलर बराबरको वित्तीय सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबीच विश्व बैंकसँग नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार विश्व बैंकले प्रादेशिक तथा स्थानीय सडक सुधार कायोजनाको लागि १ सय मिलियन अमेरिकी डलर अर्थात करिव ११ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिनेछ । अर्थ मन्त्रालयका सहसचिव नेपालले विश्व बैंकसँग एक सय मिलियन अमेरिकी डलर बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका लागि वित्तिय सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको बताए ।

आयोजनाभित्र २ सय किलोमिटर प्रादेशिक र स्थानीय सडक निर्माण र स्तर उन्नति हुने उनको भनाइ छ । प्रादेशिक र स्थानीय तहको यातायात क्षेत्रको निर्माणमा असल अभ्यासहरु अवलम्वन गर्न प्रोत्साहित गरी क्षमता विकास हुने विश्वास लिएको उनले जनाए ।

प्रदेश र स्थानीय तहहरुलाई अझ भरपर्दो, सुरक्षित र सबै समयमा सडक सञ्चालन हुने वातावरण बनाउने नेपालको भनाइ छ । ‘सडक सुधार भएसँगै आर्थिक र बजारलाई जोड्दै थप आर्थिक लगानीको बाटो खोल्नेछ’ नेपालले भने, ‘पहिलो चरणमा मधेस , कर्णाली र सुदुरपश्चिम प्रदेशमा गरी ३ प्रदेशमा कार्यान्वयन हुनेछ ।’

आयोजना प्रदेश सरकारका भौतिक मन्त्रालय मार्फत कार्यान्वयन हुने नेपालले बताए ।

विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले विश्व बैंकले नेपालको प्रादेशिक र स्थानीय सडक सुधारका लागि सहयोग प्रदान गरिएको बताए । प्रादेशिक र स्थानीय सडक सुधार गरी यातायात क्षेत्रको विकास तथा क्षमता विकास हुने विश्वास लिएको उनको भनाइ छ ।

नेपालको यातायात तथा सडक क्षेत्रको स्तरोन्नति गरी सहज र सुरक्षित सेवामा सहयोग पुग्ने उनले जनाए । विश्व बैंकले प्रादेशकि र स्थानीय सडक सुधारको लागि दिने अनुदान सहुलियत रकम स्वीकार गर्ने यसअघि नै सरकारले निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here