जब काठमाडौं महानगरपालिकाकै कार्यक्रममा मिनरल वाटर भित्र किरा भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई २ लाख जरिबाना तिराएको छ । गत शुक्रबार रेस्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जाल संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

सोही क्रममा सिलबन्द प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याइ पिउन थालेपछि वडा नम्बर ११ का सदस्य यशोमती परियारले पानीमा किरा सल्बलाएको देखिन् । कार्यक्रममा उपस्थित महानगरपालिका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाएपछि अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर निस्किएकी थिइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो ।

खानेकुरा तथा पिउने पानी स्वच्छतामा लापरबाही गर्न नहुने भन्दै उपमेयर डंगोलले अटेर गर्नेलाई कानुनी कारबाही गर्नुको विकल्प नरहेको बताइन् ।
शुक्रबार नै तत्काल अनुगमन टोली पुगेर किम्चीबाट नमुना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय नसकेपछि महानगरले आज जरिबानाको निर्णय गरेको हो ।

रेस्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका–८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एन्ड बेभरेज प्रालिले उत्पादन गरेको ‘इको’ ब्रान्डको पानी हो । खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यसअघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई पनि दुई पटक जरिबाना तिराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here