चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि सबै तयारी पूरा

काठमाडौं २४, असोज । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि सबै तयारी पूरा भएको नेपाल सरकारले बताएको छ । सरसफाई, शान्ति सुरक्षा, छलफलका विषय, प्रमुख एजेन्डा लगायत सबै तयारी पूरा भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् ।

भ्रमणलाई फलदायी बनाउनका लागि सरकारले सर्वदलीय वैठकमार्फत ऐजेन्डा तय गरेकाले सीको स्वागतका लागि सबै राष्ट्र नै तयार रहेको उनले दाबी गरे । सीको दुई दिने नेपाल बसाइको क्रममा आर्थिक, सामाजिकलगायत दुई पक्षिय सम्बन्ध समधुर बनाउने विषयमा छलफल हुने भएकाले भ्रमण ऐतिहासिक र परिणाममुखी हुने सरकारको दाबी छ ।

भ्रमणका क्रममा द्विपक्षीय वार्तामा मुख्यतः रेल्वे, सडक, अप्टिकल फाइबर र विद्युतीय ट्रान्समिसन लाइन समेटिएको हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल (ट्रान्स हिमालयन मन्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क) का विविध पक्षमा छलफल हुनेछ । यसले दुई देशका नागरिकबीचको व्यापार सम्बन्ध बढाउने तथा उत्पादन र उपभोक्तालाई जोड्न बलियो सेतु उपलब्ध गराउने सरकारको अपेक्षा छ ।

चीनसँग जोडिने पहिलो राजमार्ग अरनिको राजमार्गको स्तरोन्नति, रसुवागढी–छहरे–काठमाडौँ सुरुङ तथा रेल, अन्तरसीमा विद्युत् प्रसारण, सीमा व्यवस्थापन, किमाथाङ्का र कोराला नाका, हिल्सा सडक र उत्तर दक्षिण करिडोरका विषयमा पनि छलफल हुने भ्रमण तालिका छ ।

भ्रमणका क्रममा नेपाल र चीनका दुई राष्ट्रपतिबीच बैठक हुने, रात्रिभोज आयोजना गरिने, चिनियाँ राष्ट्रपति सीबाट प्रधानमन्त्री केपी ओलीसँग औपचारिक वार्ता गर्ने र त्यस क्रममा परियोजना तथा चासोका विषयमा समझदारी र समझौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

यही असोज २५ र २६ गते चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउदै छन् । करिब २३ वर्ष पछि चीनका राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here