पशुपति गौशालाको व्यवस्थापन महानगरले गर्ने, निःशुल्क भोजन, आवास र शौचालय सुविधा दिने

`
काठमाडौँ । पशुपति गौशाला सञ्चालन र व्यवस्थापन काठमाडौं महानागरपालिकाले गर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषले एक सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यही असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को निर्णय आज बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको निर्णय कार्यान्वयनमा लैजान सहमति पत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले सम्झौता पत्रकमा हस्ताक्षर गरेका छन् ।

‘यस्ता सार्वजनिक महत्वका स्थानको संरक्षण, प्रवर्धन र व्यवस्थापनमा सबैको दायित्व हुने बताउँदै महानगरपालिकाले यसको अभिभावकत्व ग्रहण गरेको हो,’ गुरागाईँले भने । त्यस्तै, महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले भने, ‘सार्वजनिक सम्पत्तिमा सबैको समान पहुँच बनाउनु सहमतिको उद्देश्य हो ।’

पशुपति गौशाला महानगरपालिकाको वडा नं.८ क्षेत्रमा पर्छ । कोषको स्वामित्वमा रहेको घरजग्गामा महानगरपालिकाले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्ने बताएको छ ।

गैरनाफामूलक सेवाअन्तर्गत गौशाला सञ्चालन, श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्न दान स्वीकार गर्ने तथा आवास सेवा, निःशुल्क शौचालयसहितको सेवा सञ्चालन गरिनेछन् । यसका लागि वडा नं. ८ का अध्यक्ष आशामान संगतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

समितिमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख, कोषले तोकेको प्रतिनिधि २ जना र महानगरपालिकाका प्रमुखले तोकेका १ जना प्रतिनिधि सदस्य रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here