जापानका आणविक बम पिडितहरुको संस्थाले पायो यस वर्षको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहन हिडन्क्योलाई प्रदान गरिने भएको छ। निहान हिडान्क्यो दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो।

पुरस्कार समितिले विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ।

सन् १९०१ देखि २०२४ सम्ममा १०५ पटक यो पुरस्कार प्रदान गरिएकोमा १११ जना व्यक्ति तथा २८ वटा संस्था पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा १९ जना महिला छन्। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ।

गत वर्ष अर्थात् सन् २०२३ को नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी थिइन्। उनलाई महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष था सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि पुरस्कृत गरिएको थियो।

२०२२ मा बेलारुसी मानवअधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजले यो पुरस्कार पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here