गौशाला धर्मशालामा महानगरले राख्यो आफ्नो बोर्ड

काठमाडौं । पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेलामा महानगरले बुधबार बोर्ड राखेको हो । यसअघि महानगरले आफ्नो ब्यानर राखेको थियो ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्र पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो । त्यसपश्चात कोषले धर्मशाला सञ्चालन/व्यवस्थापनको जिम्मा महानगरपालिकालाई दिने निर्णय गरी महानगरलाई पत्र लेखेको थियो ।

वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि पशुपतिनाथको स्वामित्वको धर्मशाला प्रयोग भएको थियो । लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको सम्पत्ति फिर्ता भएको हो ।

गौशालास्थित कित्ता नम्बर ८३ को ४ रोपनी १५ आना २ पैसा क्षेत्रफल र सोही स्थानको कित्ता कित्ता नम्बर ८५ को ४ रोपनी १० आना क्षेत्रफल गरी जम्मा ९ रोपनी ९ आना जग्गा र त्यहाँ बनेको धर्मशाला समितिले प्रयोग गर्दै आएको थियो । धर्मशालामा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here