२ अर्ब लगानीमा रारामा लक्जरी रिसोर्ट बन्दै

काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनका बेला सम्झौता भएको ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अस्ट्रेलियाली लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधा सम्पन्न रारा रिसोर्ट खोल्न नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको लगानीकर्ताले जानकारी दिएका छन् ।

उक्त रिसोर्ट निर्माणका लागि पर्यटन विभागले सोमबार स्वीकृति प्रदान गरेको हो । विभागले रारा क्षेत्रमा १९ वटा भवनमा ६२ कोठा र ९८ शय्या क्षमता रहने गरी लक्जरी रिसोर्ट निर्माण गर्न आईईई अनुमति प्रदान गरेको हो ।

अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स रिसोर्ट प्रालिको संयुक्त लगानीमा बन्न लागेको उक्त होटलको लागत करिब २ अर्ब रुपैयाँ रहने छ । एक्सपर्ट ग्रुपको मुख्य लगानी रहने उक्त रिसोर्टमा नेपाली साझेदारका रूपमा रारा होल्डिङ्सका तर्फबाट अभिषेकविक्रम शाहले नेतृत्व गर्नेछन् ।

उक्त रिसोर्ट मुगु छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने छ । डेढ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधन प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भएको सञ्चालक शाहले बताए ।

‘भर्खरै पर्यटन विभागले रिसोर्ट निर्माणका लागि आईईई स्वीकृति प्रदान गरेको छ,’ शाहले भने, ‘अब केही समयभित्रै अन्य थप प्रक्रिया पूरा गरी निर्माण चरणमा प्रवेश गर्नेछौं ।’ साथै, रिसोर्ट निर्माण रारा क्षेत्रको विकासका लागि कोशेढुंगा साबित हुने स्थानीय सरोकारवाला बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here