काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावली तथा लक्ष्मीपुजा गरिँदैछ । त्यस्तै कुकुर तिहार पनि आज नै परेको छ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज कुकुरलाई पुजा गरेर माला लगाई मिठोमिठो खान दिने प्रचलन रहिआएको छ ।
त्यस्तै आज घरको आँगन तथा पिँढी गाइको गोबरले लिपेर सफा बनाइन्छ । त्यस्तै घरका झ्याल ढोका तथा साथै पानी सार्न प्रयोग गर्ने गाग्री लोटा सयपत्री फूलका माला लगाएर सिगार्ने गरिन्छ ।
त्यस्तै आज साँझ घरको मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको पाइला बनाउने तथा झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।
दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ ।
लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने मान्यता छ । घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।