काठमाडौं । नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो ।
नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएकोमा नेपालले त्यसलाई बिना विकेटको क्षति हात पारेको थियो । नेपालले ४.२ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो र सनसनीपूर्ण ब्याटिङको नमुना पेस गर्यो ।
नेपालको जितमा कप्तान सन्दीप जोरा नायक रहे । उनले १२ बलमा ५० रन बनाए । उनको ब्याटबाट ४ चौका र ६ छक्का निस्केको थियो । लोकेश बमले ११ बलमा २० रन बनाए । उनले एक चौका र दुई छक्का प्रहार गरे ।
नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । यसक्रममा इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । त्यसमा सबैभन्दा ठूलो योगदान कप्तान रवि बोपाराको रह्यो । उनले १२ बलमा ४९ रन बनाए । उनले एक चौका र सात छक्का प्रहार गरे ।
यसतै समित पटेलले १७ बलमा ३९ रन बनाए । उनले भने तीन तीन चौका र छक्का प्रहार गरे । अरू ब्याटरले भने गतिलो योगदान दिन सकेनन् । नेपाली बलरमध्ये विवेक यादव र प्रतिश जीसीले दुई–दुई विकेट हात पारे ।
यस्तै नारायण जोशी र लोकेश बमको नाममा एक एक विकेट रह्यो । रसिद खान मात्र विकेट लिन नसक्ने बलर रहे । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ । नेपालले अब शनिबार अस्ट्रेलियाको सामना गर्नेछ ।