काठमाडौं । युएईमा जारी आईसीसी यू १९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ ।
छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।
दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो ।
कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २(२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् ।
रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १(१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।
नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।