काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि होमिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा प्रहरी हिरासतमा छन् । कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका रवि बिनानै रास्वपा उपनिर्वाचनमा होमिएको हो । पार्टीले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी इलेक्सनको कार्यतालिका पनि फाइनल गरेको छ ।
जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन् । मधेसमा डा.चन्दा कार्की, बाग्मतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
पार्टीले प्राइमरी चुनावका माध्यमबाट उम्मेदवारहरु तय गर्ने छ । जसका लागि केन्द्रीय निर्वाचन संयोजन समितिले प्राइमरी निर्वाचनको कार्यतालिका तय गरेको छ ।
आउँदो २२ कात्तिक देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । बाँकी कार्यतालीका यसप्रकार छःयस्तो छ कार्यतालिका
१. उम्मेदवारी दर्ता, २०८१ कात्तिक २२ देखि २५ गते,दिउँसो २.०० बजे सम्म
२. प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन, २०८१ कात्तिक २५ गते, साँझ ८.०० बजे सम्म
३. प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध, २०८१ कात्तिक २६ गते, साँझ ५.०० बजे सम्म
४. उम्मेदवारसँग छलफल, २०८१ कात्तिक २७ गते, साँझ ५.०० बजे सम्म
५. उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २०८१ कात्तिक २७ गते
६. मतदान/निर्णय, २०८१ कात्तिक २८ गते, साँझ ७.०० बजे सम्म
७. नतिजा प्रकाशन, २०८१ कात्तिक २९ गते, दिउँसो १.०० बजे
उम्मेदवारीका लागि आवेदन दिन चाहेनले अनलाइन फाराम वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फराम भर्न सक्नेछन् । निर्वाचन हुने सम्वन्धित स्थानीय तह वा वडाका पार्टी सदस्यले प्राइमरी इलेक्सनमा भाग लिन सक्छन् ।