काठमाडौं । कलाकार राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक हो ।
महानायक राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको बताए । सम्झौताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए ।
हमालले लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी लागेको बताए ।‘क्रिकेटसँग नजिकको सम्बन्ध छ । मैले क्रिकेटमा असाध्यै इन्ट्रेस्ट दिन थालेको नेपालमै खेल हुन थालेपछि हो,’ उनले भने, ‘आज आएर लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी छु । टिम व्यवस्थपनलाई धन्यवाद ।’
उनले रोहित पौडेल नेतृत्वको लुम्बिनी टिमले राम्रो गर्छ भन्ने विश्वास लागेको बताए । मार्की प्लेअर रोहित पौडेलले महानायक राजेश हमाल जोडिँदा खुशी लागेको बताए । ‘राजेश हमाल लुम्बिनी लायन्सको मात्र नभएर समग्र देशकै एम्बासडर हुनुहुन्छ । टिमले एकदमै राम्रो सपोर्ट गरेको छ,’ उनले भने, ‘अब पालो हाम्रो हो ।’
कन्सलट्याण्ट प्रशिक्षक शक्ति गौचनले पनि सिनेमा जगतका महानायक राजेश हमाल लुम्बिनी टिममा जोडिँदा खुसी व्यक्त गरे ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एनपीएलको उपाधि जित्ने लक्ष्यसहित नै आधारदेखि नै टिम निर्माण गरिरहेको र लक्ष्य उपाधि जित्ने रहेको बताए । साथै उनले एनपीएलमार्फत नेपाली क्रिकेट विकासमा लुम्बिनी लायन्सले पनि केही सहयोग गर्न सक्छ भनेर लागेको बताए ।