२७ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएको छ ।
सोमबार एक कार्यक्रमबिच महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पंकज रायले निर्माण तथा उपकरण जडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार महानगरले अस्पतालमा अपरेसन थियटर निर्माण तथा उपकरण जडान २०८२ जेठ मसान्तभित्र गरिसक्ने छ।
आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँच योग्य बनाउन आन्तरिक क्षमतासँगै अन्य सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन सहकार्य गरिएको महानगरले जनाएको छ । महानगरले चालु आर्थिक वर्षमा कान्ति बाल अस्पतालसँगको सहकार्यका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेकाे बताएको छ।
सम्झौताअनुसार अस्पतालले मोडुलर ओटी बनाउन लागतअनुमान तयार पार्नेछ । सम्झौतामा उल्लेख भएको ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुनेछ । लागत र ड्रइङ् डिजाइनका आधारमा खुला बोलपत्र आव्हान गर्ने, मूल्यांकन गर्ने, निर्माण पक्ष छनोट गर्ने र निर्माण कार्य गराउने दायित्व अस्पतालको हुनेछ ।
महानगरबासीलाई सरल पहुँचमा स्वास्थ्य सेवा विस्तारसँगै समय समयमा आउने विश्वव्यापी महामारीका जोखिमको प्रतिकार्य, रोकथाम र पुनःस्थापनाका लागि समन्वयात्मक काम गर्नु सम्झौताको उद्देश्य रहेको महानगरले जनाएको छ ।
सम्झौताअनुसार निर्माणका लागि अन्य निकायबाट अनुदान वा सहयोग रकम उपलब्ध भएमा त्यसको विवरण महानगरपालिकामा बुझाउनु पर्नेछ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, महानगरबासीप्रति महानगरपालिकाले पूरा गर्नु पर्ने स्वास्थ्य सेवाको पहुँच सम्बन्धी दायित्व पूरा गरिएको बताए ।