महासंघले लगानी प्रवद्र्धनमा नियोगहरुलाई सघाउँछ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरि लगानी प्रवद्र्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए । ‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरि आर्थिक कुटनीति विस्तार गर्न हामी यहाँहरु समक्ष आग्रह छौ,’ उनले भने , ‘यसमा महामहीमज्यूहरुले अग्रसरता लिइदिनुपर्यो ।’ नेपालमा वातावरण बन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरुलाई आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्न आग्रह गरे ।

यसैगरि अध्यक्ष ढकालले महासंघको अन्तराष्ट्रिय संजाललाई पनि नियोगहरुले उपयोग गर्न सक्ने बताए । महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवं चेम्बरहरुसंग सहकार्य रहेको छ । ढकालले महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा पनि राखे । नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए । “कोभिडपछिको उल्लेखनीय आर्थिक वृद्धिलाई व्यवस्थापन गरी अघि बढ्न आवश्यक थियो । तर, हामीले अर्थतन्त्र नियन्त्रण गर्ने नीति अपनायौँ, जसले ठूलो संख्यामा जनशक्ति पलायन, हुनुका साथै लगानी र रोजगारीमा गिरावट निम्त्यायो,” ढकालले भने ।

ढकालका अनुसार पछिल्ला दुई वर्षमा विदेशी लगानी बार्षिक ७ देखि ९ अर्ब रुपैयाँ वार्षिक मात्रामा सीमित छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको करिब ०।२५ मात्र हो । त्यसैले लगानी प्रवद्र्धन सबैको चासोको बिषय हुनुपर्ने उनको धारणा थियो ।

छलफलका क्रममा अर्थतन्त्रको सकारात्मक पक्ष प्रस्तुत गर्दै लगानीकर्ता आकर्षित गर्न सकिने बताए । ‘उच्च विदेशी मुद्राको संचितिलाई विदेशी लगानीकर्ताहरुले सदुपयोग गर्न सक्छन्,’ उनले भने । नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गर्न सकिने पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।

‘पछिल्लो डेढ वर्षमा, हामीले भारत, चीन, र दुबईमा ठूला सम्मेलनहरू आयोजना गर्‍यौं’ उनले भने । यी कार्यक्रममा हरेक देशका करिब एक सय ५० स्थानिय उद्यमी व्यवसायीको सहभागिता रहेको थियो ।

मध्यपूर्वी मुलुकहरुमा नेपाली कृषिजन्य उत्पादनहरुको सम्भावना रहेको औल्याउनु हुँदै अध्यक्ष ढकालले यसमा विशेष ध्यान दिन जरुरी रहेको जानकारी दिए । अन्य मुलुकहरुमा पनि नेपाली उत्पादनका लागि गैर भन्सार अवरोध समस्याका रुपमा रहेको बताए ।

यसैगरि नेपाल अतिकम बिकसित मुलुकहरुबाट स्तरोन्नति हुने क्रममा रहेको हुँदा यसले अन्तराष्टियस्तरमा पाइने सुविधा कटौतिले निजी क्षेत्रमा प्रभाव पर्ने बारे उल्लेख गरे । यस्तो प्रभाव कम गर्न नव नियुक्त राजदूतहरुको महत्वपूर्ण भूमिका रहने अध्यक्ष ढकालले स्मरण गराए ।

छलफलका क्रममा सहभागि नवनियुक्त राजदूतहरुले स्तरोन्नतिबाट न्युन प्रभाव पर्ने गरि काम गर्न आवश्यक रहेको बताए ।

बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्धिपक्षीय कर मुक्ती सम्झौताका लागि पहल गर्नुपर्ने धारणा राखे ।

चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्ण प्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुमा जोड दिए । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपील श्रेष्ठ, पाकिस्तानका लागि राजदूत रीता धिताल, साउदी अरबका लागि राजदूत नरेश ढकाल, स्पेनका लागि प्रस्तावित राजदुत सनिल नेपाल, पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणी पौडेल र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्र प्रसाद तिमल्सेनाले निजी क्षेत्रसंग मिलेर काम गर्ने बताए ।

त्यसैगरी भारतका लागि प्रस्तावित राजदूत डा शंकर शर्माले भारतमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै भारतसंगको समस्या के छन्, ती बिषय लिखित रुपमा दिन आग्रह गरे ।

कतारका लागि प्रस्तावित राजदूतले कतार चेम्बर संग महासंघले संयुक्त परिषद स्थापना गरिसकेको सन्दर्भमा यसबाट फाइदा लिन सहकार्य गर्नुपर्ने बताए ।

सो अवसरमा जर्मनका लागि नेपालका राजदूत डा सहयोग रुपाखेती युरोपेली मुलुकमा जाने मुलुकहरुमा जिएसपी प्लस सुविधा लिनका लागि महासंघले पहल बारे जानकारी दिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here