फीन इलेक्ट्रो टेक–२०२४’ आजदेखि सुरु,

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ आज (कात्र्तिक २९ गते) बाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

मेलाको ११ औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको बृहत् यो मेलामा सम्पूर्ण विद्युतका सामग्रीहरू उपलब्ध हुने बताए । मेला अवधिभर उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने महासंघले बताएको छ ।

मंसिर २ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उत्पादनमा जोड दिनेलाई सरकारले महत्त्व दिनुपर्ने बताएका छन् ।

सरकार उत्पादनका लागि आवश्यक ऊर्जा व्यवस्था मिलाउनमा लागि रहेको छ, यो अवस्थामा महासंघले यस्तो मेला आयोजना गर्दा सरकारको लक्ष्य पूरा गर्नमा पनि मद्दत गर्ने छ,’ उनले भने । मन्त्री सिंहले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने सरकारको प्राथमिकताको विषय रहेको पनि बताए ।

यस्तै, कार्यक्रममा एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्ने वातावरण छैन भन्ने भाष्य चिर्नुपर्ने बताउँदै सत्तामा भए पनि नभए पनि अर्थतन्त्रका एजेन्डामा सबै पार्टी एक हुनुपर्ने बताए । निजी क्षेत्र देशको इन्जिन भएकाले जसबाट प्राप्त सुझाव पनि समेटेर सरकार अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

यसैगरी नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष कमलेश अग्रवालले नेपालबाट विद्युत् बिक्रीसँगै आन्तरिक विद्युत खपत बढाउन आवश्यक रहेको बताए । ‘सरकारले विद्युत उत्पादनको लक्ष्य पूरा गर्नु साथसाथै विद्युतको आन्तरिक खपत बढाउन पनि आवश्यक छ, यसको मूल्य घटाउँदै पनि जानु पर्छ, निजी क्षेत्र मर्कामा परेको विषयलाई बुझेर सरकारले यसको समाधान गर्दै जानुपर्यो,’ उनले भने ।

महासंघका अनुसार फीन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ८२ वटा प्याभिलियन तथा स्टलहरू रहने छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

यसैगरी कार्यक्रममा बोल्दै एफएनसीसीआई वस्तुगततर्फका उपाध्यक्षमा हेमराज ढकालले आयात भएर आउने सामानको अन्तःशुल्क करलाई समय सापेक्षित बनाउनु पर्ने बताए । कोभिडपछि भारत तथा चीनमा पनि सानको मूल्य घटी प्रतिस्पर्धा बढेको र माग संकुचन भएको अवस्था छ, यस्तो अवस्थामा नेपालले पनि पहिलाकै भन्सार दर कायम गर्नु पर्यो, केही आइटममा बिल भन्दा बढी भन्सार महसुल लगाएको बुझेको छु,’ उनले भने ।

प्रदर्शनीमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहने छन् । यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।

चार दिनसम्म चल्ने प्रदर्शनीमा करिव ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ । मेलाको पहिलो दिन आज ७००० यति जनाले अवलोकलन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here