साविकको पाँचतारे अन्नपूर्ण होटेल रहेको स्थानमा अब २५ तले भब्य होटेल बन्ने

काठमाडौं । ६ अर्ब रूपैयाँको लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु भएको छ । भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा सो स्थानमा अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरेको हो ।

यसअघि उक्त स्थानमा होटल अन्नपूर्ण रहेको थियो । सोमबार भूमि पूजा गरी कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले होटल निर्माणको सुरुवात गरेका हुन् । सो क्रममा भाटभटेनी सुपरमार्केटका अध्यक्ष समेत रहेका गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा होटल निर्माण थालिएको बताए ।

निर्माण थालिएको स्कवायरको डिजाइन भारतको आर्किटेक्चर कम्पनीले गरेको उनले सुनाए । दुई चरणमा काम सम्पन्न गर्ने योजना रहेको भन्दै उनले १ वैशाख २०८५ देखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए ।

उनका अनुसार २५ तलाको हुने अन्नपूर्ण स्क्वायरमा ९ लाख स्क्वायर फिट क्षेत्रफलमा होटल रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ । होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउने गुरुङले बताए ।

पुरानो संरचना भत्काउने काम भइरहेको र स्थानीय तहले जति छिटो अनुमति दिन्छ त्यति नै छिटो निर्माण अघि बढ्ने उनको भनाइ छ ।

३ सय ५० कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गरिने भन्दै उनले मूल्य ‘रिजनेवल’ हुने बताए ।

‘होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ,’ गुरूङले भने । आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए । गुरूङलाई बढी कर तिर्नेको सूचीमा राख्दै सरकारले शनिबार विशेष सम्मान पनि गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here