सरकार उद्योगीको पक्षमा लागेपछि अझ आक्रामक प्राधिकरण

काठमाडौं । सरकारले बक्यौता तिर्न नमान्ने उद्योगहरुको बिजुली काट्न नदिएसँगै नेपाल विद्युत प्राधिकरण अझ आक्रामक बनेको छ । प्राधिकरणले उद्योगी ऊर्जा प्रवर्द्धक भएमा तिनका उद्योगले बक्यौता तिर्न बाँकी छ भने विद्युत् बिक्री सम्झौताअनुसार नेपाल विद्युत् प्राधिकरणले दिनुपर्ने रकम मासिक रुपमा कट्टा गर्दै लगिने भन्दै ऊर्जा प्रवर्द्धकहरुलाई जानकारी दिएको छ ।

‘डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरी बक्यौता महसुल नतिर्ने विभिन्न उपभोक्तासँग सम्बन्धित कम्पनी र वित्तीय लगानीरस्वार्थ रहेको अन्य संस्था–कम्पनीसँग बक्यौता महसुल नउठेसम्म विद्युत् खरिद बिक्री सम्झौताबमोजिम भुक्तानी गर्नुपर्ने रकमबाट क्रमशः कट्टा गरी बक्यौता महसुल असुल गर्ने जानकारी सम्बन्धित प्रवर्द्धक (संस्था–कम्पनी)लाई गराइएको,’ प्राधिकरणले बुधबार आयोगलाई पठाएको पत्रको तेस्रो बुँदामा उल्लेख छ ।

‘डेडिकेटेड र ट्रंकलाइनका प्रिमियम बक्यौता नतिरेका उद्योगीहरुसमेत ऊर्जा प्रवर्द्धक छन् भने प्राधिकरणले विद्युत् खरिदबिक्री सम्झौताबमोजिम भुक्तानी गर्नुपर्ने रकमबाट मासिक रुपमा कट्टा गरी बक्यौता असुल गर्ने भन्दै प्रवर्द्धकहरूलाई जानकारी गराएका छौं,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने ।

उता, प्राधिकरणले लोडसेडिङको बेला डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेर महसुल नतिरेका ३४ उद्योगलाई सेयर जारी गर्ने अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई पत्र पठाएको छ ।

यसैगरी बक्यौता नतिरेका उद्योगी तथा सञ्चालकका घरको समेत लाइन काटेर बक्यौता असुल गर्न पाउनुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगसँग सहमति मागेको छ ।

साथै प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here