काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्यान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरेका छन् । भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा हुने बताइएको छ ।
परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण हो । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री डा राणा शनिबार नेपाल फर्किएर पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यक्रम तय भएको छ ।