काठमाडौं । बारास्थित गढीमाई मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्यापिड रेस्पोन्स टिम’ ले खाद्य पदार्थ अनगुमन र निरीक्षण गरेको छ । मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी गढीमाई मेलामा स्थलगत खाद्य पदार्थ परीक्षण समेत गरी मेलामा खाद्य पदार्थ निरीक्षण अनुगमन गरेको हो ।
‘मेला, महोत्सव हुने खाद्य पदार्थमा अत्यधिक रङ प्रयोग, उपभोग्य अवधि सकिएका खाद्यान्न बिक्री, खाद्य वस्तु तार्न एउटै तेल बारम्बार प्रयोग, मसी भएको कागजमा प्याकिङ, अखाद्य रङ प्रयोग र सरसफाइ कमीजस्ता समस्या देखिने गरेको थियो । यसैलाई मध्यनजर गरी हामीले अनुगमन गरेका हौं,’ विभाग प्रवक्ता मोहनकृष्ण महर्जनले भने ।
प्रवक्ता महर्जनका अनुसार १७ भदौदेखि पुनः सञ्चालनमा रहेको ‘मोबाइल फुड ल्याब भ्यान’ ले पहिलो पटक सांस्कृतिक मेला, महोत्सव निरीक्षण अनुमगन सुरुवात गरेको हो ।
शुक्रबार र शनिबार मोबाइल फुड ल्याब भ्यानसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय पर्साको संयुक्त टोलीले अनुगमन गरेको थियो । शनिबार रातिसमेत बिक्री स्थल अनुगमन गरेको थियो ।
अनुमगनका बेला दूध, खुवा, प्रशोधित पिउने पानी, कटन क्यान्डी, लड्डु, जेरी, चप, पानीपुरी तथा तेल लगायत १ सय ३८ नमुना स्थलगत प्रयोगशाला परीक्षण भएको थियो ।
परीक्षणमा कैफियत पाइएका तेल, रंगिन मिठाई र कटन क्यान्डी नष्ट गरी कारबाही गरेको विभागले जनाएको छ । मेला सञ्चालन अवधिभरि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साबाट नियमित अनुगमन हुने व्यवस्था समेत मिलाएको छ ।