काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम कुनै सहकारीबाट आएको भन्ने दस्तावेज नरहेको भन्दै बयान दिएका छन् ।
आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएपछि उनले यस्ताे बयान दिएका हुन् । लामिछानेले जीबीले सहकारी संस्थाबाट पैसा ल्याएकाे जानकारी आफू पदमा रहुन्जेलसम्म नदिएको बयान छ।
उनले भनेका छन् ‘म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन ।’लामिछानेले लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त नभएको बताए ।
लामिछानेले वयानमा भनेका छन् ‘सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन ।
सहकारी संस्थाबाट मैले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथा ताकेता आउनुपर्ने थियो, गैर कानूनी ढंगबाट ऋण लिइएको मलाई जानकारी छैन ।’