यस्तो छ ‘द हन्ड्रेड’ क्रिकेटको नियम, पर्ला त सन्दीपलाई चुनौती ?

काठमाडौं,३० असोज । आईपीएलवाट एकाएक चम्केका सन्दीप लामिछानेको माग क्रिकेट दुनियाँमा ह्वात्तै बढेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को दशौं संस्करणमा लामिछाने छनोट हुँदा नेपालमा ठूलै तरंग पैदा भएको थियो । तिनै लामिछाने एकैदिन दुई प्रतियोगितामा करिब दुई करोड नेपाली रुपयाँमा अनुबन्धित भएका छन् । सुरुवाती चरणमा दिल्लीले एसोसिएट राष्ट्रको १७ वर्षे किशोरमाथि जुवा खेलेको थियो ।

‘अक्सन’ मार्फत सन्दीपलाई दिल्लीले २० लाख भारुमा अनुबन्धित गर्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाइसकेको थिएन । तर, सन्दीपले उक्त भरोसालाई सहि सावित गर्दै क्रिकेट दुनियाँमा चर्चित बनेका छन् । आईपीएल सुरुवाती खेलहरुमा मौका नपाएको सन्दीपले दिल्ली डेयरडेभिल्स प्लेअफबाट बाहिरिइसके पछि मात्र मौका पाएका थिए । तीन खेलमा पाँच विकेट लिंदै दिल्ली डेयरडेभिल्सबाट त्यो सिजन सर्वाधिक विकेट लिने पाँचौं बलर समेत बनेका थिए । सन्दीपको चामत्कारिक क्षमता देखेरै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटको ‘मक्का’ मानिने बेलायतको लर्ड्स मैदानमा आयोजना भएको वेस्टइन्डिज विरूद्धको खेलका लागि विश्व–११ टोलीमा चयन गरेपछि उनको चर्चा झनै चुलिएको थियो ।

एकैदिन दुई प्रतियोगितामा करिब दुई करोड मूल्यमा अनुबन्ध
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै उच्च मूल्यमा अनुबन्धित भएका छन् । बुधवार ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड अर्थात एक करोड ४६ लाख नेपाली रुपैयाँमा अनुबन्धित गरेको हो । विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् ।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाइदेखि १६ अगस्टसम्म आयोजना हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । हरेक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।

त्यसैगरि सन्दीप बुधबार नै टी १० लिगका लागि कर्नाटका टस्कर्समा अनुबन्ध भएका थिए । डाफ्ट्रमा रहेका सन्दीपलाई क्याटागोरी ‘ए’ मा फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले किनेको हो । युनाइटेड अरब इमिरेट्स (यूएई)मा नोभेम्बर १४ देखि २४ तारिखसम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई कर्नाटका टस्कर्सले जारी ड्राफ्टमार्फत ए क्याटेगोरीमा रहेका सन्दीपलाई पहिलो राउण्डमै लिएको हो । ‘ए’ मा पर्ने खेलाडीको मुल्य ४५ हजार अमेरिकी डलर पाउने छन् । अघिल्लो सिजन सन्दीपले केराला नाइट्सबाट टि टेन खेलेका थिए । त्यतिवेला उनले ६ खेल खेल्दै ६ नै विकेट लिएका थिए ।

‘द हन्ड्रेड’ क्रिकेटको फर्म्याट निकै फरक
‘द हन्ड्रेड’ क्रिकेटको फर्म्याट अन्य खेलको भन्दा निकै फरक रहेको छ । यो लिगमा ८ टिमहरु बर्मिंघम फोनिक्स, लण्डन स्पिरिट, म्यान्चेस्टर ओरिजिनल्स, नर्दर्न सुपरचार्जर्स, ओभल इन्भिन्सिबल्स, साउदर्न ब्रेभ्स, ट्रेन्ट रकेट्स र वेल्स फायर छन् । सन्दिप बर्मिंघम फोनिक्समा आबद्ध रहेका छन् । प्रतियोगिता सन् २०२० को १७ जुलाइदेखि १६ अगस्टसम्म आयोजना हुनेछ ।

नेपालका सन्दिप लामिछाने अवद्ध टीममा विदेशी खेलाडीहरुमा बंगलादेशका शाकिब अल हसन र वेष्ट इण्डिजका निकोलस पुरन छन् हरेक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बाँकी सबै खेलाडी इङल्याण्डका हुन् । सेतो बलबाट खेलिने यो लिगको नियम क्रिकेटका अन्य फर्म्याटको भन्दा निकै फरक छ । इङल्याण्ड र वेल्स क्रिकेट बोर्डले यसका नियम सार्वजनिक गरेको छ ।

यो फरम्याटमा एक इनिङमा १०० बल हुनेछन् । रोचक त के भने यसमा क्रिकेटका अन्य फरम्याट टेस्ट, वनडे, टि–२० र हालै प्रचलनमा आएको टि–१० मा जस्तो ६ बलको एक ओभर हुने छैन । यसमा बलिङ गर्ने इण्ड हरेक १० बलमा परिवर्तन हुनेछ । क्रिकेटका हाल प्रचलनमा रहेका अन्य सबै फरम्याटमा भने ६ बल अर्थात एक ओभरपछि बलिङ इण्ड परिवर्तन हुने गर्छ । द हण्ड्रेडमा एक बलरले अधिकतम २० बल बलिङ गर्न पाउनेछन् ।

यो नियम भने अन्य सीमित ओभरका क्रिकेटमा जस्तै अर्थात एउटा बलरले इनिङको कूल बलमध्ये २० प्रतिशत मात्र बलिङ गर्न पाउने नै कायम छ । टि–२० मा २ मिनेटको स्ट्राटेजिक टाइम आउट दिने प्रचलन छ तर यसमा भने हरेक बलिङ गर्ने टिमले एक पटक मात्र ३० सेकेण्डको स्ट्राटेजिक टाइम आउट पाउनेछन् । द हन्ड्रेडमा सुरुका २५ बल पावरप्ले हुनेछ । पावरप्लेमा बलिङ गर्ने टिमका २ जना मात्र फिल्डर ३० यार्डको घेराबाहिर बस्न पाउनेछन् ।

द हण्ड्रेडमा एक बलरले लगातार ५ वा १० बल फाल्न पाउनेछन् । बलरलाई ५ बल फाल्न दिने वा १० बल फाल्न दिने भन्ने बलिङ गर्ने टिमका कप्तानको आत्मनिर्णयको कुरा हुनेछ । यदि एक बलरलाई ५ बलमात्र फाल्न दिइएमा उनले एउटा इण्डबाट ५ बल फालेपछि अर्का बलरले पनि त्यही इण्डबाटै अर्को ५ बल बलिङ गर्नेछन् । अहिले प्रचलित क्रिकेटका सबै फरम्याटमा बलर फेरिएपछि बलिङ इण्ड पनि परिवर्तन हुने गर्छ तर द हण्ड्रेडमा यस्तो हुने छैन । तर, यदि कप्तानले ती बलरलाई १० बल नै फाल्न दिएमा भने ती बलरले एउटै इण्डबाट पूरै १० बल बलिङ गर्नेछन् र अर्का आउने बलरले अर्को इण्डबाट बलिङ गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here