काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग सहित सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको आज बसेको इजलासले रिट निवेदन खारेज गरकाे हाे। साथै केही निर्देशनात्मक आदेश पनि दिएको छ ।
सिंहले रेनोल्ड होल्डिङस्को शेयर खरिदबिक्री रोकिनुपर्ने माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।
मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट यु.के.लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो ।
पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा शेयर विक्री गर्न खोजिएको भनी रिट निवेदन दर्ता भएको थियो । सन् २०१६ मा एक खर्ब ४३ अर्ब रुपैंयामा आजियाटाले एन्सेलको ८० प्रतिशत खेयर किनेको थियो । पछि व्यवसायी सतीशलाल आचार्यलाई ५५ मिलियन अमेरिकी डलर(करिव ६ अर्ब ६५ करोड रुपैयाँमा शेयर बिक्रीको घोषणा गरेको थियो ।
सात वर्षमा नै ठूलो रकम गिरावटका साथ शेयर खरिदबिक्री भएको भन्दै सांसदले सिंहले प्रश्न उठाएका थिए ।
एनसेलको शेयर खरिदबिक्री गरी नामसारी गर्ने काम नगर्न नगराउन माग गरिएकाे रिट निवेदनमा एन्सेल, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री कार्यालय, आन्तरिक राजस्व कार्यालयलाई पनि विपक्षी बनाएका थिए ।