काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत छ । काठमाडौं उपत्यकामा पुस २३ गते छिटफुटदेखि हल्का वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ ।
यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना पनि छ ।
पुस २३ गते मंगलबारको दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका हकमा भने थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडि भूभागका थोरै ठाउँहरुमा छिटफुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको कारण यस्तो भएको महाशाखाल्े जनाएको छ । अघिल्ला पश्चिमी न्यूनचापीय प्रणालीभन्दा यो केही कमजोर देखिएको छ । तर देशभर नै तापक्रम केही घटेर चिसो बढ्नेछ ।