साना तथा मझौला कम्पनीको आईपीओमा न्यूनतम ५ सय कित्ता आवेदन दिनुपर्ने

काठमाडौं । साना तथा मझौला कम्पनीहरुले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

नेपाल धितोपत्र बोर्डले बनाएको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावलीमा साना कम्पनीको सेयरमा आवेदन दिन पाइने न्यूनतम सीमा तोकिएको हो । तर, अधिकत सीमा कम्पनीको विवरणपत्रमा उल्लेख भए बमोजिम हुनेछ ।

‘संस्थाले सेयर खरिदका लागि दरखास्त आब्हान गर्दा दरखास्तका साथ कम्पनी सम्बन्धी प्रचलित कानुनमा व्यवस्था भएअनुसार प्रतिसेयरको अंकित मूल्यको ५० प्रतिशत मात्र रकम माग गर्नुपर्नेछ,’ नियमावलीमा भनिएको छ, ‘कुनै विशेष ऐनमा शतप्रतिशत रकम माग गर्नुपर्ने व्यवस्था भए, सञ्चालनमा रहेका संस्थाले आफ्नो अघिल्लो तीन वर्षको लेखापरीक्षण भएको आर्थिक विवरण प्रकाशन गरी पुजी संकलन गर्दा ५० प्रतिशतभन्दा बढी रकम माग गर्ने व्यवस्था भएकोमा दरखास्तका साथ सो भन्दा बढी माग गर्न सक्ने छ ।’

यसैगरी, नियमावलीमा २५ करोडभन्दा कम रकमका कम्पनीले सञ्चालनको एक आर्थिक वर्षको पूर्ण अवधि पुरा गरेपछि सेयर जारी गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्ता कम्पनीले पुँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी धितोपत्रको प्रारम्भिक निष्काशन (आईपीओ) गर्न सक्नेछन् ।

तर, आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढीमा २५ करोड रुपैयाँभन्दा बढी हुन पाउने छैन ।

नियमावलीमा कम्पनीको सूचीकरण खारेज गर्न सकिने व्यवस्था गरिएको छ । ‘कम्पनी खारेजी प्रस्ताव साधारणसभामा लैजानुपर्ने र सो सभामा कम्तीमा ९० प्रतिशत सेयर स्वामित्व भएका कम्तीमा ७५ प्रतिशत सेयरधनीको उपस्थितिमा हुनुपर्नेछ,’ नियमावलीमा उल्लेख छ, ‘कम्पनीको सेयर कारोबारका लागि स्वचालित विद्युतीय कारोबार प्रणाली स्थापना गर्नुपर्नेछ ।’
अहिले पनि सेयर बजारमा २५ करोड रुपैयाँभन्दा कम पुँजी भएका कम्पनीहरूको सेयर कारोबार भइरहेको छ । तर यस नियमावलीअनुसार सेयर जारी गर्ने कम्पनीहरूको कारोबारका लागि अलग्गै प्रणाली स्थापना गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here