काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हड्ताल नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे । प्रवक्ता शिवकुमार सापकोटाले जारी गरेको भनिएको छ, ‘विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताललगायतका गतिविधि कायमै रहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
त्यस्तै वातावरणमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध नगर्न मन्त्रालयले भनेको छ । मन्त्रालयले शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्र स्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालाबन्दी र हड्तालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन् हुने हुँदा यस प्रकारका गतिविधि शिक्षण संस्थामा नगर्नु नगराउनु हुन सम्बन्धित सवैमा मन्त्रालय हार्दिक अपिल गरेकाे छ।
आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिदिन स्थानीय प्रशासनलाई मन्त्रालयले अनुरोधसमेत गरेको छ । ‘कुनै पनि शिक्षण संस्था तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थामा भइरहेका त्यस्ता गतिविधिको अन्त्य गरी शिक्षा प्राप्त गर्ने व्यक्तिको आधारभूत मानव अधिकारको संरक्षण गर्दै संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न र शैक्षिक सेवा प्रवाहको निरन्तरता सुनिश्चित गर्ने व्यवस्था गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि मन्त्रालय सदैव प्रतिवद्ध रहेको व्यहोरा जानाकारी गराउदछौं,’ विज्ञप्तिमा भनिएको छ ।





















