काठमाडौं । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुइँकेलसहित ९ जना दोषी ठहर भएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको बुधबार बसेकाे इजलासले ९ जनालाई दोषी ठहर गरेको हो।यसअघि विशेष अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले कोषका तत्कालीन सदस्यदसचिव निर्मल कुइँकेललाई ६ वर्ष कैद र बिगोबापतको ८३ लाख ४१ हजार ६६६ रूपैयाँ जरिवाना असुल गर्न आदेश दिएको छ।
त्यस्तै सर्वाेच्चले काेषकै तत्कालीन सदस्य सुशील नहाटालाई ६ वर्ष कैद र बिगोबापतको ९१ लाख ६३ हजार रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई पनि ६ वर्ष कैद र १ करोड २२ लाख रूपैयाँ जरिवाना तोकेको छ।
महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद र ७८ लाख ५३ हजार ३९३ रूपैयाँ जरिवाना तोकेको छ। त्यस्तै प्रेमराज जोशीलाई ६ महिना कैद २ लाख ३७ हजार ६६६ रूपैयाँ जरिवाना तोकेको छ।






















