काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा वार्ता भएको छ ।
‘इन्डिया इनर्जी विक–२०२५’ मा सहभागी हुने क्रममा यस्तो वार्ता भएको हो । मन्त्री खड्काले आज बिहीबार भारतीय समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेट गरी पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा छलफल गरेका हुन् ।
भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डीपीआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए । भेटमा टनकपुरदेखि नेपाल–भारत सीमासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधिलाई चाँडै अन्तिम रूप दिई महाकाली सन्धि अनुसार पानी छाड्ने सहमति भएको छ ।
सो अवसरमा बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको १४औं बैठक आगामी २२ देखि २४ मार्चसम्म गर्ने निणर्य गरिएको छ । साथै यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति पनि भएको छ ।
यसैगरी सप्तकोशी बहुउदेश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि द्विपक्षीय बैठक मार्फत छलफल अगाडि बढाउने सहमति भएको छ ।
भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए ।
भेटवार्तामा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठ लगायत सहभागी थिए ।