काठमाडौं । आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानै उठि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र लगायत पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा उखु पाेलेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
बिशेष गरि आज काठमाडौंका पशुपतिनाथमा भक्तजनहरु पुजा आजाका लागि पुग्ने गरेकाछन्। त्यस्तै ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका देभरका शिव मन्दिरहरुमा घुइँचो छ ।
आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दैछ । सेना दिवसका कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।




















