कार्यविधि अनुसार उपकुलपतीको नाम सिफारिस गर्न आग्रह

काठमाडौं । काठमाडौं विश्वविद्यालयको ७ वटा स्कुलका डिन एसोसियट डिनहरूले कार्यविधि अनुसार उपकुलपतीको नाम सिफारिस गर्न भनेका छन् ।

डिन एसोसियट डिनहरूले विज्ञप्ति जारी उपकुलपतिको नाम मेरिटको आधारमा सिफारिस गर्न छनोट समितिलाई आग्रह गरेका हुन्। डिन र एसोसियट ‘३ जनाको नाम समयमै सिफारिस गरी तीमध्येबाट एक जना उपकुलपतिका रुपमा विश्वविद्यालयले छिट्टै पाउने आशा र भरोसामा छौं’, वक्तव्यमा भनिएको छ । वक्तव्यमा छनोट प्रक्रियालाई लिएर विभिन्न सञ्चार माध्यम मार्फत आइरहेका टिप्पणीहरुले हाम्रो ध्यानाकर्षण भएको उल्लेख छ ।

समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा, सदस्यमा डा.अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् । सर्ट लिस्टमा परेका १० जनाको फागुन २ र ३ गते अन्तर्वार्ता सकिए पनि सदस्यबीच सहमति नहुँदा नाम सिफारिस नभएको हाे ।

सर्ट लिस्टमा परेका १० जनाको अंकभार तोडमोड गर्न लागेको विषय उठेको भन्दै डिन र एसोसियट डिनहरूले समितिको ध्यानाकर्षण गराएका हुन् । उम्मेदवारले पाएको अंकलाई तोडमोड गरिदै छ, नयाँ नयाँ सर्त अघि सार्ने काम भएकाले समितिमा अरु सदस्यलाई अप्ठ्यारो परेको बताइएकाे छ।

उपकुलपतिको दौडमा अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा छन् ।