काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको अनुभव भएको बताएका छन्।
आइतबार धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित जनभेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धको बेलामा जस्तै फेरि पीर मर्का बुझ्नमा भुल गरेका बताएका हुन्।
त्यसकारण विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा रहेको र आगामी दिनमा नियमित रुपमा जनतासँग नै रहने बताए ।
जनताको कुरा सुनेर त्यसअनुसार राज्य सञ्चालनमा भूमिका खेल्नका लागि जनताको साथ पनि चाहिएको उनले बताए । आफू नेतृत्वको सरकारले कर्णालीलाई, मधेशलाई र सुदुरपश्चिमलाई उच्च प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएको उनले बताए ।
उनले भने ‘बिचौलिया ठगहरू यी सबै मिलेर हामीले जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै हामीलाई सरकारबाट संख्याको कारणले हटाए’ प्रचण्डले भने ।
आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहिएको भन्दैसाथ दिन अनुराेध गरे । उनले भने ‘हामीलाई तपाईंहरुको मत चाहियो ।’
प्रचण्डले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको पनि बताए ।
माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए ।























